काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयोगले कार्यदल गठन गरेको छ । नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर आयोगले कार्यदल बनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विद्युतीय मतदानको विषयमा अध्ययन गर्न सूचना प्रविधि मन्त्रालयका सह–सचिवको संयोजकत्वमा आयोगले कार्यदल गठन गरेको छ ।

कार्यदललाई विद्युतीय मतदानको विषयमा अध्ययन गर्न एक हप्ताको समय दिइएको छ । विद्युतीय मतदानका प्राविधिक पक्षबारे अध्ययन गरेर एक हप्तामा आयोगलाई प्रतिवेदन बुझाउने गरी कार्यदललाई जिम्मेवारी दिइएको छ । प्रवक्ता पौडेलका अनुसार स्थानीय तहको मिति घोषणा भएपछि आयोगले विद्युतीय मतदानको विषयमा छलफल थालेको हो । कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै थप अध्ययन गरेर आयोगले सोही अनुसार अगाडि बढ्ने छ ।

नेपालमा पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विद्युतीय मतदान भएको थियो । त्यसपछि २०६५ र २०७१ सालको निर्वाचनमा पनि विद्युतीय मेसिन प्रयोग गरेको आयोगले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुने भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा विद्युतीय मेसिनबाट मतदान गराउने गृहकार्य गरेको हो ।