काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरी २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन विधिबाट देशका विभिन्न प्रयोगशालाहरुमा २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।


कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज बुधबार ७ हजार ७ सय ७७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । उपचारका क्रममा सोही अवधिमा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् ।


हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार २ सय ४१ जना रहेका छन् । सङ्क्रमणको दर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ । यसैबीच मन्त्रालयले पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ ।