काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले आज बुधबार मुलुकभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको हुने सम्भावना रहेको छ । बागमती र प्रदेश नं १ का केही ठाउँमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

देशको लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पश्चिमी क्षेत्रलगायत पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो देशको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविद्हरुले बताएका छन् त्यसैगरी बागमती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।