फाइल तस्वीर
भक्तपुर– नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटगर्न बालकोटस्थित ओली निवास पुग्नु भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न साँझ बालकोट पुग्नु भएका कोइरालाले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेशन एमसीसीलगायत विषयमा छलफल भएको बताइएको छ ।


सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ बैशाख ३० गते शुक्रबार गर्ने मिति घोषणा गरिसकेको छ । प्रधानमन्त्री समेत रहनु भएका काङ्ग्रेस सभापति शेरबहादुर देउवा इतर पक्षको नेतृत्व गर्नुभएका डा.शेखर कोइरालालाई उचालेर पाँच दलीय गठबन्धन फुटाउने खेलमा एमाले अध्यक्ष ओली लाग्नु भएको आरोप पनि छ । एमसीसी परियोजनालाई लिएर काङ्ग्रेस र एमालेबीच सत्ता समीकरणको विषय पनि यतिबेला उठ्न थालेको छ ।


पाँच दलीय गठबन्धन निर्वाचनमा समेत सँगै जान सक्ने सम्भावना देखेर एमाले अध्यक्ष ओलीले विभिन्न कोणबाट गठबन्धन भत्काउन काङ्ग्रेसको संस्थापन इतरलाई भित्रभित्रै खेल खेलिरहनु भएको राजनीतिक वृत्तमा चर्चा परिचर्चा हुने गरेको छ । एमालेले सरकार विरोधी मोर्चा बनाउने, सकेसम्म सत्ता गठबन्धनलाई फुटाएर एमाले सरकार जाने र आगामी सङ्घीय र प्रदेश निर्वाचनमा आफ्नो लागि सहज वातावरण बनाउन कसरत भैरहेको छ ।