फाइल तस्वीर

हेटांडा– राजावादी राजनीतिक दलको पगरी पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः फुटको सङ्घारमा पुगेको छ । गत मङ्सिरमा महाधिवेशनबाट पराजित भएपछि विछिप्त बनेका पूर्व अध्यक्ष थापाले राप्रपा परित्याग गर्दै नयाँ दल दर्ता गर्ने गृहकार्य गरिरहेका छन् । गीता छोएर कहिले पार्टी नफुटाउने कसम खाएका राप्रपाका पूर्वअध्यक्ष थापा महाधिवेशनमा पराजित भएपछि तीन महिना नबित्दै आफैंले जन्माएको पार्टी परित्याग गर्न लागेका हुन् । राजधानीको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटनशत्रमा बोल्दै थापाले आइन्दा पार्टी नफुटाउने कसम खाएका थिए । नेतृत्वबाट विमुख भएपछि पूर्वराजा ज्ञानेन्द्रले आफुलाई हराउन ठूलो षडयन्त्र समेत गरेको आरोप लगाउँदै आएका थापाले आज हेटौंडामा पुगेर पार्टी परित्याग गर्ने बताए छन् ।

महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि भित्रभित्रै नयाँ दल गठन गर्ने गृहकार्यमा जुटेका उनले हिजो सोमबार राजधानीमा आफु निकट नेता कार्याकर्ताहरुलाई भेला गराएर नयाँ दल गठन गर्ने सङ्केत गरेका थिए । गत मङ्सिरमा महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित थापा निकटका नेताहरुले पार्टी नफुटाउन आग्रह समेत गरेका थिए ।
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्नु अगावै पार्टीभित्रको विवादलाई हल गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम नै दिएका थापाले पार्टीको पदाधिकारी बैठक बस्नुभन्दा दुई घण्टा अगाडि राप्रपा आफुले छोडेको घोषणा हेटौंडामा पुगेर गरे । पार्टीको नेतृत्वमा पसेर राजनीतिक तर मार्दै आएका थापाले पार्टी नेतृत्वबाट विमुख भएपछि आफ्नो शक्ति क्षयीकरण भएको बोध भएर नै उनले नयाँ पार्टी गठन गर्न लागेका हुन् ।

पार्टी भित्रको विवाद समाधान गर्न वर्तमान अध्यक्ष लिङ्देनलाई कुनै कुरा सोच्न समेत नदिइ हतासमा नयाँ पार्टी गठन गर्न खोज्नु थापा नेतृत्वबाट विमुख हुन चाहँदैनन् भन्ने प्रष्ट देखिन्छ ।


सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचन आयोग पनि निर्वाचनको तयारीमा जुटिसकेको छ । निर्वाचन हुन ९४ दिन बाँकी रहँदा थापाले नयाँ दल दर्ता गर्न पाउने कि नपाउने भन्ने प्रश्न उब्जिएको छ । थापालाई अब नयाँ दल दर्तागरेर निर्वाचनमा जान मुस्किल देखिन्छ ।

सोमबार आफूनिकट नेताहरूसँग पनि थापाले तत्काल पार्टी दर्ता गर्नुपर्ने बाध्यताबारे बताएका थिए । स्थानीय तहको निर्वाचनमा सहभागी हुन भ्याउने गरी दल दर्ताको प्रक्रिया थाल्ने थापानिकट नेता राजाराम बर्तौलाको भनाइ छ । राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भए अनुसार आयोगलाई दल दर्ता गर्न बढीमा ४५ दिन लाग्छ । अर्थात् आयोगले दल दर्ताका लागि निवेदन दर्ता भएको ४५ दिनभित्र दल दर्ता सक्नेछ ।

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले अब निर्वाचन आयोग पहिला दर्ता भइसकेका दलहरूलाई निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्ने प्रक्रियामा जुटेको छ । निर्वाचनको सङ्घारमा आएर कमल थापाले नयाँ दल दर्ता गरेर पुनः निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न समयले साथ दिने अवस्था देखिंदैन । राप्रपा छोडेका थापाका दुई/तीनभित्रै नयाँ दल दर्ता गर्न सकेमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने सम्भावना देखिन्छ । थापाले नयाँ दल दर्ता गरेता पनि स्थानीय तहको निर्वाचनमा उनको दलले कुनै ठाउँमा पनि जित्ने सम्भावना ज्यादै न्यून देखिन्छ ।