काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पूर्वदल माओवादीलाई भित्र खाओवाद बाहिर माओवाद भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा एमसीसी मुख्यालयलाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि डा.भट्टराईले भित्रभित्र राष्ट्रघात बाहिर–बाहिर राष्ट्रवाद भएको टिप्पणी गर्नुभएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नु भएको छ, भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुन सक्दैन तबसम्म देश बन्दै बन्दैन । MCC जुन ढङ्गले गिजोलिंदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !