काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली आज सोमबारदेखि पूर्ण रुपमा हटाइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयहरुले माघको पहिलो सातादेखि लगाएको जोर–बिजोर प्रणाली आजदेखि हटाइएको हो ।
माघ ७ गते मध्यरातिदेखि सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले हटाउने निर्णय गरेसँगै आइतबार मध्यरातबाट निर्णय लागू भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण केही घट्ने सङ्केत देखिएपछि दोस्रो साता अर्थात् माघ १४ गतेदेखि सार्वजनिक यातायातका सवारीसाधनहरुमा जोर–बिजोर हटाइएको थियो । तर, निजी सवारीसाधनमा भने जोर–बिजोर प्रणाली कायमै थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोरोना भाइरसको सङ्क्रमणका बेला जारी स्वास्थ्य मापदण्डको पालना गर्नेगरी जोर–बिजोर हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र अनिवाय मास्क लगाउनु पर्ने प्रावधान कायम गरिएको छ ।
यसैगरी फागुन १ गते आइतबारदेखि शैक्षिक संस्थाहरुमा भौतिक रुपमा सञ्चालन हुने भएका छन् ।