फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता गरेको भन्ने खुलेपछि महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले आफ्नो पार्टीका सभापतिलाई जोडेर एमसीसी अनुमोदन गर्न लिखित प्रतिबद्धता नै भएको खुलेपछि यसबारे थप अध्ययन गरेर पार्टीको आगामी २७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गर्ने बताउनुभयो ।

एमसीसी अनुमोदन गराउने लिखित प्रतिबद्धता गरेको भन्नेसम्मको सूचना मात्रै बाहिरिएकाले यसबारे थप अध्ययन गरेर मात्रै थप धारणा दिने उहाँको भनाइ छ । ‘पार्टीको बैठकमा छलफल गरेपछि मात्रै यस विषयमा कसरी अघि बढ्ने भन्ने एकिन हुनेछ ।’