काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेका बताउँदै उहाँले शैक्षिक संस्थाहरूको सुधार, प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा राष्ट्र, अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समेत प्रयासतर्फ हामीले आफूलाई निर्देशित गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो । विद्याले व्यक्तिको सामथ्र्य अभिवृद्धि गर्छ, सच्चरित्र दिन्छ, त्यसैले आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दीगो शिक्षा प्राप्त हुने जनविश्वास रहेको उहाँले बताउनुभयो । बसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउने तथा मानवजातिलाई असल र खराब छुट्याई असल मात्रलाई ग्रहण गर्ने आन्तरिक प्रकाशको खोजी गर्न निरन्तर उत्प्रेरित गर्ने बताउनुभयो । रासस