सुनसरी– पाँचदलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाहेको भनी नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले आरोप लगाउनुभएको छ । सुनसरीको धरानमा आज शनिबार आयोजित प्रेस चौतारी सुनसरीको २४औँ स्थापना दिवसको अवसरमा उहाँले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको आरोप समेत लगाउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले आगामी ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेकोले लोकतन्त्र विरोधी काम नगर्न सरकारलाई चेतावनी दिनुभयो । महासचिव शङ्कर पोखरेलले भन्नुभयो, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको अवज्ञा त भएको छ न,ै आयोगको समेत बेवास्ता गरेको छ ।’

महासचिव पोखरेलले एमालेको बढ्दो लोकप्रियता देखेर परमादेशबाट केपी ओली सरकार हराउने खेल भएको बताउनुभयो । जसको पीडा मुलुकले अहिले भोग्नु परेको छ भन्दै पोख्रेलले ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यस्तो किन भयो भन्दा मुलुकलाई गलत बाटोमा लैजानको खेल हो भन्नुभयो ।’ साथै उहाँले छिमेकी देश भारतले सीमानाका लिपुलेक, लिम्पियाधुरा सडक बनाउन अघि बढ्दा पनि सरकारले कुनै चासो नदिनुले गठबन्धन सरकार जनताको हित विपरीत काम गरिरहेको प्रतिक्रिया समेत दिनुभयो ।