मनाङ – पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातले प्रभाव पारेको हो। घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि खोप अभियान स्थगित गरिएको उहाँले बताउनुभयो । ‘मौसम अनुकूल भएपछि खोप अभियान सुचारु गर्नेछौँ,’ आचार्यले भन्नुभयो ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । हिमपातका कारण घरबाट बाहिर निस्कने अवस्था नहुँदा यस जिल्लाको जनजीवन पनि कष्टकर भएको छ । यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको आचार्यले बताउनुभयो

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भारी मात्रामा हिमपात भएकाले जिल्लावासी तथा पर्यटकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन सङ्क्रमणको जोखिमका कारण जिल्लामा पर्यटक न्यून भए पनि सचेत रहन आग्रह गरिएको छ ।

हिमपातका कारण अन्नपूर्ण पदमार्गमार्फत मनाङ भित्रिने पर्यटकलाई सचेत हुन आग्रह गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । पर्यटकहरुलाई जहाँ पुगेका छन् त्यहीँ सुरक्षित तवरबाट बस्न अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पर्यटकहरु हिउँमा बाहिर निस्किँदा चिसोका कारण बिरामी पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो ।

khop

उता हिमपातका कारण यहाँका किसान भने खुसी भएका छन् । यहाँको स्थानीय उत्पादन बढ्ने भएकाले किसान खुसी भएका हुन् । मनाङको प्रवेशद्वारा ताल गाउँसम्म भारी हिमपात भएको र यहाँ धेरै चिसो बढेको बताइएको छ ।

यउसैगरी हुम्लाको सिमकोटमा पनि दुई दिन लगातार भएको हिमपात रोकिएर घाम लागे पनि कोरोना विरुद्धको खोप अभियान तीन दिनदेखि प्रभावित भएको छ । हिमपातका कारण खोप लगाउन नसकिने र सेवाग्राही पनि खोप केन्द्रमा नआएपछि अभियान बन्द भएको हो । दोस्रो मात्राको खोप लगाउने तयारी गरेका स्थानीय कृष्ण रोकायाले बाटो चिप्लो भएकाले जान नसकेको बताउनुभयो । उहाँले हिउँ पर्न रोकिए पनि अत्यधिक चिसो बढेको र बाटो चिप्लो भएकाले खोप लगाउन स्वास्थ्य सेवा कार्यालयमा जान नसकेको बताउनुभयो ।

सिमकोट गाउँपालिका–१ को दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले तीन दिनदेखि खोप लगाउने कार्य बन्द भएको जानकारी दिनुभयो । चिसोले गर्दा खोप केन्द्रमा स्वास्थ्यकर्मी उपस्थित भए पनि सेवाग्राही कोही पनि नआएकाले खोप अभियान प्रभावित भएको हो दैनिक डेढ सय सेवाग्राही उक्त खोप केन्द्रमा खोप लगाउन आउने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले हिमपातले गर्दा तीन दिनयता जिल्लाभरि कोरोना विरुद्धको खोप लगाउने कार्य प्रभावित भएको बताउनुभयो ।

जिल्ला अस्पतालमा समेत तीन दिनदेखि खोप लगाउन कुनै पनि सेवाग्राही नआएको उहाँले बताउनुभयो । जिल्लाका सात वटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोपसहित स्वास्थ्यकर्मी पुगेर अभियान सञ्चालन गरे पनि हिमपातले उक्त कार्य बन्द भएको बताइएको छ ।

यस कार्यका लागि दुई सयभन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । उहाँले चिसोले तापक्रम माइनस पुगेका कारण खोप लगाउने कार्य प्रभावित भएको बताउनुभयो । यतिखेर जिल्लाभर बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य जारी थियो। –रासस