काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना तथा पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्यारोमा परेका नागरिकहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

शनिबार बिहान गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्ला र हिमाली जिल्लाका आठ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा रुखको हाँगा भाचिँदा महेन्द्र सदाकी आठ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका सात वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो । त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका १ मा कच्ची घर ढलेर भित्ताले च्यापिँदा ४५ वर्षीया फुलमतियादेवी रायको मृत्यु भएको थियो । गृहमन्त्री खाँणले धनुषा र रौतहटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पीडित परिवारलाई राहत दिन निर्देशन दिनुभएको हो ।

महाशाखा प्रमुख कोइरालाले भन्नुभयो, ‘शनिबार भए पनि हिमपात, शीतलहर र हावाहुरीका घटनामा तत्काल उद्दार र राहतको व्यवस्था गर्नुपर्ने हुनसक्छ, सतर्क रहनुहोला भन्ने निर्देशन मन्त्रीज्यूबाट भएको छ ।’

मन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू दिर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी पर्सा (जुम्ला), गणेश आचार्य (हुम्ला), शङ्करहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुङ्गा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असर कस्तो छ, तत्काल व्यवस्थापन गर्नु पर्ने के छ भन्दै सतर्क रहेर काम गर्न निर्देशन दिनुभएको हो ।