सुनसरी – सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक ठोक्किँदा २७ यात्रु घाइते भएका थिए । शुक्रबार बेलुका करिब पौने ८ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत खुनिया भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परी बसका चालक पाँचथरका सुरेन राई, एक यात्रु र ट्रकका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सामान्य घाइते १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । १० जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार जारी छ । सवारीसाधन ठोक्किएर ब्याट्रीको घर्षण उत्पन्न भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आफ्नै साइडमा गुडिरहेको ट्रकमा विपरीततर्फ पुगेर बस ठोक्किएको बताइएको छ । ठोक्किनासाथ आगलागी सुरु भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।