काठमाडौं – देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसोदेखि भने मौसममा क्रमशः सुधार हुँदै जानेछ ।

मौसमविद्का अनुसार आज अपरान्हपछि मौसममा क्रमिक सुधार भएर भोलिदेखि घाम लाग्ने सम्भावना छ । तर, दुई दिनसम्म परेको वर्षाका कारण आकाश खुल्ने हुँदा बिहानीपख चिसो भने बढ्न सक्ने छ ।

आज अपरान्हपछि मौसममा सुधार आउने देखिन्छ । भोलिदेखि मौसम घमाइलो हुन्छ तर भोलि बिहान चिसो बढ्न सक्छ । लगातारको वर्षाले आकाश खुला हुँदा तापक्रम घटेर चिसो धेरै महसुस हुने सम्भावना रहन्छ ।

आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरु प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने पूर्वानुमान छ ।

देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।