काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा विरोध प्रदर्शन गरेका छन् । आज बिहीबार दिउँसो विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठनले मूल्य वृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले ’सबैखाले महङ्गी नियन्त्रण गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, संयुक्त जबस जिन्दावाद, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर, ज्यानमारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गर्दै नाराबाजी समेत गरेका थिए । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको थियो । सोही विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।