काठमाडौं – पशुपति क्षेत्र विकास कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउने भएको छ । कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहराहरु हटाउने भएको हो । आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको कोषले स्पष्ट पारेको छ ।

“पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भएको छ,” सूचनामा भनिएको छ ।

पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषले जनाएको छ । पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहराहरू र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूलपसल, पूजा सामग्री पसल, पूजा भाडा पसलहरू यसअघि कोष र त्यस क्षेत्रमा सञ्चालित पसलवालाहरूसँग भएको सहमति बमोजिम कोषले निर्माण गरेका स्थायी संरचनामा गोलाप्रथाबाट छनोट भएकाहरू कोषको सार्वजनिक खरिद महाशाखामा समन्वय गरी तत्काल सामान सारी सञ्चालन गर्न उल्लेख गरिएको छ ।

कोषद्वारा सार्वजनिक गरिएको सूचनामा १५ दिनभित्र खाली गरी हट्न र सामानहरू हटाउन भनिएको छ ।