काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीका बारेमा सभामुख अग्निप्रसाद सापकोटाले समाधान गर्ने भन्दा पनि समस्या खडा गरेको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ भन्दै प्रश्न गर्नुभएको छ ।

जसपा अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ, जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ? “हलो अड्काएर गोरू चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु बिडम्बनापूर्ण छ । प्रमुख प्रतिपक्षले संसद चल्न नदिने, सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ ? जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?“

सभामुख अग्नि सापकोटाले एमसीसी संसद्को मात्र विषय नरहेका कारण, यो नागरिक स्तरमा पनि धेरै बहस र छलफल भएको विषय भएकोले दलहरु राष्ट्रिय सहमति खोजेर मात्र संसद् मा आउन आग्रह गर्नुभएको थियो ।