काठमाडौं – आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू–भागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज राति देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चटयाङ्सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।