फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नटुट्ने दावी गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भएको भेटघाट र छलफलको बारेमा पार्टीका नेताहरुलाई ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आगामी जेठमा स्थानीय चुनाव हुने र गठबन्धन नटुट्ने बताउनु भएको हो ।

अध्यक्ष नेपालले ‘हामीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र स्थानीय तहको चुनावलाई लिएर छलफल भयो । ‘बामाले (एमाले) यो गठबन्धन फुटाउन लागि परेको छ, तर फुट्दैन’ भन्ने जिकिर समेत गर्नुभयो ।

अध्यक्ष नेपालले आउँदो जेठमा स्थानीय तहको चुनाव हुने र त्यसले गठबन्धनमा असर नपर्ने भन्दै बाहिर आएका खबर भ्रामक रहेको दाबी गर्नुभयो । ‘हामीबीच (देउवा, प्रचण्ड र म) कुनै मनमुटाव वा तिक्तता छैन । गठबन्धन बलियो छ र रहन्छ’ अध्यक्ष नेपालको भनाइ थियो । पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उपहासचिव गङ्गालाल तुलाधरसहितका नेताको उपस्थिति रहेको थियो ।