काठमाडौं– स्थानीय तहको निर्वाचनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी छलफल भएको छ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल भएको हो ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै निर्वाचन आयोगले सरकारलाई ताकेता गरिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको मङ्गलबार भएको बैठकमा २०७९ साल ४ जेठमै निर्वाचन गर्ने विषयमा छलफलमा केन्द्रित थियो । बैठकमा आयोगले जेठ ४ मा चुनावको मिति प्रस्ताव गरेको छ ।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने मिति टुङ्गो लागिसकेको छैन । तर, प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् ।

छलफलमा आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।