फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले २०७९ साल जेठ ५ गते वर्तमान पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने बताउनु भएको हो । स्थानीय तहको निर्वाचन २०७४ बैशाखमा भएको थियो ।

सत्तासाझेदार पाँच दलीय गठबन्धनको शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ महिनामा गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजावादी) ले स्थानीय तहको निर्वाचन २०७९ साल माघ–फागुनमा गर्ने धारणा राखे पनि काङ्ग्रेसभित्र कुरा नमिल्दा गठबन्धन जेठ मै चुनाव गर्ने निष्कर्षमा पुगेको हो ।

स्थानीय तहको कार्यकाल आगामी जेठ ५ गते सकिंदैछ । संवैधानिक व्यवस्था र कानून अनुसार स्थानीय तहका पदाधिकारी पदहरु रिक्त नहुने व्यवस्था छ । त्यसैले स्थानीय तहका पदाधिकारीहरुको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान छ । ऐनको दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही प्रावधान अनुसार स्थानीय तहमा जनप्रतिनिधिहरु रिक्त नहुने गरी सरकारले निर्वाचन गर्ने तयारी गरेको स्रोतको भनाइ छ । निर्वाचन आयोगले एक महिना अघि नै सरकारलाई स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सिफारिस गरेको थियो ।

यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि सरकारलाई चाँडोभन्दा चाँडो स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिँदै आएको छ । एमाले सरकारमा रहँदा सरकारको सचिवबाट अवकाश पाएको चार दिनपनि नवित्दै निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेको थियो । प्रमुख निर्वाचन आयुक्त एमाले अध्यक्ष ओली कोटरीका रुपमा परिचित छन् । यही पृष्ठभूमिमा निर्वाचन आयोगले पनि सरकारलाई निर्वाचनको मिति तोक्न दवाव बढाउँदै लगेको छ । यता राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सरकारलाई २०७९ साल जेठ ६ गते स्थानीय तहमा नयाँ पदाधिकारीले कार्यभार सम्हाल्ने गरी निर्वाचन गर्न लिखित रुपमै दबाब दिंदै आउनु भएको छ । सम्भवत पर्सी माघ २० गते बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।