फाइल तस्वीर
काठमाडौं – राष्ट्रियसभाका सदस्य तथा वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गर्नु भएको स्रोतले बताएको छ । तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले र माओवादी मिलेर बनेको नेकपा) को तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएका गौतम पार्टी विभाजन पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा रहनु भएको थियो । एमालेको उपाध्यक्ष समेत बन्नुभएका गौतमले केही समयअघि उपाध्यक्ष पदबाट राजीनामा दिनु भएको थियो ।


तात्कालीन खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई २०७७ सालमा राष्ट्रियसभा सदस्यमा मनोतित गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नु भएको थियो ।
महाकाली सन्धीको विषयलाई लिएर २०५४ मा नेकपा एमालेबाट विभाजन भै गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गर्नुभएको थियो । विभाजनको चार वर्षपछि अर्थात् २०५८ मा एमालेसँग एकता गरेर पुनःएमालेको नेता बन्नु भएको थियो ।


कुनैपनि पार्टीमा आवद्धता नदेखाई स्वतन्त्र वामपन्थी जस्तो भै राष्ट्रिय राजनीतिमा गुमनाम जस्तै बस्नु भएका गौतमले यतिबेला नयाँ दल दर्ता गर्न गृहकार्य गरिरहनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । एमाले विभाजन पछि माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा(एकीकृत समाजवादी) मा समेत सम्लग्न नहुनुभएका गौतम गत मङ्सिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा समेत सहभागी नभै तटस्थ बस्नु भएको थियो ।