काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सोमबार सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण पठाउन निर्देशन दिएको हो । सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटा जिल्ला स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई खोप मौज्दातको विवरण र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले २४ लाख डोज खोप हराएपछि छानबिनका समिति गठन गरेको छ । सो समितिको बैठकले खोप र खोप लगाउनेहरूको विवरण सङ्कलन गर्ने निर्णय गरेको हो ।