काठमाडौं – पाँचदलीय गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । आज सोमबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो । उहाँहरूबीच स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा मिलेर जाने विषयमा सत्तारुढ गठबन्धनभित्र एक मत छ । तर, काङ्ग्रेसकै केही शीर्ष नेताहरूले नेपाली काङ्ग्रेसले चुनावमा कसैसँग गठबन्धन नगर्ने बताउँदै आएका छन् । काङ्ग्रेस महामन्त्री गगन थापासहितका नेताहरूले चुनावमा कसैसँग गठबन्धन नहुने अभिव्यक्ति दिँदै आएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म कायम राख्नुपर्ने बताउँदै आउनुभएको छ । यसअघि शनिबार बालुवाटरमा भएको छलफलमा नेताहरूबीच स्थानीय निर्वाचन र एमसीसीका विषयमा छलफल भएको थियो ।