काठमाडौं – जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सीमाङ्कनपछि मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । आज आइतबार एक विज्ञप्ति निकाल्दै उहाँले स्थानीय तहको नामाङ्कन र सिमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस अनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामाङ्कन र सीमाङ्कन सकेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएको हो ।

आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागत योग्य रहेको बताउँदै जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन । तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनी जनता प्रगतिशील पार्टी नेपालको जोडदार माग छ ।’