काठमाडौं – संसद् सचिवालयले आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिम कायमै रहेको भन्दै आज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले शनिबार एक विज्ञप्ति जारी गर्दै अर्को बैठकको मिति आगामी माघ २६ गतेका लागि तय गरेको जनाउनुभएको छ ।

यसअघि शनिबार नै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको थियो । गत पुस ६ गतेदेखि सुरु भएको संसद् बैठक पुस ७ गते बसेपछि पुनः बस्न सकेको छैन ।