काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै उहाँले दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले शहीदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न दिवसले थप प्रेरणा प्रदान गर्नेछ पनि आशा व्यक्त गर्नुभएको छ । नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

शहीद दिवस देशका लागि प्राण आहुति गर्ने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको स्मरण गर्दै उहाँले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको बताउनुभएको छ ।