काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गर्नुभएको छ ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले वि.सं २००७ को एकतन्त्रीय जहानिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२÷६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीद मुलुकका सच्चा सपूत भएको बताउनुभएको छ ।

‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो’, उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले शहीदले आम नेपालीलाई रैतीबाट नागरिक बनाउन, मुलुकमा राजनीतिक सामाजिक परिवर्तन ल्याउन तथा नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न तुल्याउन गरेको उच्च योगदानको कदर गर्नुभएको छ ।

उहाँले वि.सं २००७ को आन्दोलनमा मुलुकमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहूति दिने महान शहीद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदमा श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले यस दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । रासस