काठमाडौं – आगामी जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको कानुनविद्हरुले बताउनुभएको छ । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गर्नु भएको हो ।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौंतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष समेत रहनु भएका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनलाई आधार मानेर स्थानीय तहको निर्वाचन हुने अन्तराष्ट्रिय मान्यता रहेको पनि स्मरण गराउनुभयो । उहाँले स्थानीय तह पदाधिकारीविहीन हुने परिकल्पना संविधानले नगरेको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘संविधानको धारा २२५ मा पहिलो नगरसभा र गाउँसभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्यो । त्यसको सुरुवात पहिलो चरणको निर्वाचनबाटै गणना हुने अन्तराष्ट्रिय मान्यता पनि छ । इन्डियामा पनि लोकसभाको निर्वाचन नौं चरणमा भएको थियो । तर, त्यसको कार्यकाल पहिलो चरणको निर्वाचनलाई आधार मानेर बनाइएको थियो ।’

नेपाल बार एशोशिएशनका पूर्वमहासचिव पोखरेलले जेठ ५ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा किटानी व्यवस्था भएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचन समयमै नभए स्थानीय तह जनप्रतिनिविहीन हुने अवस्था आउनेतर्फ पनि सचेत गराउनु भयो । पोखरेलले भन्नु भयो, ‘संविधानको धारा २१५ र २१६ मा स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरिएको छ । त्यो भनेको पाँच वर्ष एक दिन हुँदैन । त्यसैले संविधानले किटान गरेको पाँच वर्ष भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ । यति जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन नभए स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ ।’

महासचिव पोखरेलले दलहरुले संविधान र कानुन विपरित भएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताउनु भएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।

उच्चस्तरीय राजनीतिक समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले संविधानसँग बाझिएका कानुनहरू संशोधन गर्नुपर्ने भएको त्यसको तयारी गर्न पनि सरकारलाई सुझाव दिइएको बताउनुभयो । “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ,” उहाँले भन्नुभयो, “जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।”