खलङ्गा – राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४ सय ५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ० दशमलव ८८ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३ सय ७७ रहेको छ । वि.सं २०६८ मा जुम्लाको जनसङ्ख्या एक लाख आठ हजार ९ सय २१ रहेको थियो । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या चन्दननाथ नगरपालिकाको रहेको छ । सबैभन्दा कम जनसङ्ख्या गुठीचौर गाउँपालिकाको रहेको छ ।

चन्दननाथ नगरपालिकाको जनसङ्ख्या २० हजार ९ सय ७३ रहेको छ । त्यहाँ पुरुष १० हजार ४ सय ७५ र महिला १० हजार ४ सय ९८ रहेका छन् । नगरपालिकाभित्र पाँच हजार ३ सय ६७ परिवार संख्या छ । यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८ सय ९१ रहेको छ । त्यहाँ पुरुष पाँच हजार ३ सय ४४ र महिला पाँच हजार ५ सय ४७ छन् । गुठीचौरको परिवार सङ्ख्या दुई हजार ४ सय ५१ रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।

यस्तै हिमा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ८ सय ४ छ । पुरुष ६ हजार ३ सय ८८ र महिला ६ हजार ४ सय १६ छन् । त्यहाँको परिवार सङ्ख्या दुई हजार १ सय ४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६ सय ८७ छ । पुरुष ६ हजार ८ सय ७ र महिला ६ हजार ८ सय ८० छन् ।

पातारासी गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८ सय ८१ छ । पुरुष आठ हजार ३ सय ४९ र महिला आठ हजार ५ सय ३२ छन् । पातारासीको परिवार सङ्ख्या तीन हजार ३ सय ७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ । सिञ्जा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७ सय ५५ छ । पुरुष ६ हजार ५ सय ६१ र महिला ६ हजार १ सय ८३ छन् । सिञ्जामा परिवार सङ्ख्या दुई हजार ४ सय २७ रहेको छ ।

यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७ सय २१ रहेको छ । पुरुष सात हजार ७ सय २८ र महिला सात हजार ९ सय ९३ छन् । परिवार सङ्ख्या तीन हजार ३ सय २१ रहेको छ । तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६ सय ९२ छ । पुरुष सात हजार २ सय ६१ र महिला सात हजार ४ सय ३१ छन् । परिवार सङ्ख्या दुई हजार ६ सय ६६ रहेको छ । रासस