काठमाडौं – पाँचदलीय गठबन्धन दलहरुको बैठक आज अपराह्न ४ बजे पुनः बस्ने भएको छ । बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संसदीय चुनावभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको थियो ।

यद्यपि, चुनाव कहिले गर्ने भन्नेबारे भने टुङ्गो नलागेको नेताहरुले बताउनुभयो । यसबारेमा आजै अपराह्न फेरि बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताहरुले जानकारी दिनुभएको छ ।

नेपाली काङ्ग्रेसभित्र नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव सार्न नहुने दवाब दिंदै आएका छन् । यस्तै माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई समेत सहमति गराई समयमै चुनाव गर्नेगरी छलफल सकारात्मक ढङ्गले अघि बढेको बुझिएको छ । सो विषयमा सत्ता गठबन्धन दलहरुबीच आजै अपराह्न ४ बजे अर्को बैठक बसेर निष्कर्षमा पुग्ने बताइएको छ ।