काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनसँग आफूहरु नडराएको बताउनुभएको छ । आफू निकट कर्मचारीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले चुनावसँग आफ्नो दल र गठबन्धनमा रहेका दल नअत्तालिएको बताउनुभएको हो । अध्यक्ष नेपालले भन्नुभयो, ’हामी चुनाव जहिले भएपनि जान तयार छौँ, गठबन्धनमा यही आशय व्यक्त भएको छ । निर्वाचनसम्म गठबन्धन कायम राख्ने प्रतिवद्धता काङ्ग्रेसबाट आएको छ ।’

स्थानीय निर्वाचन भन्दा अघि संघीय संसद वा त्यअसघि वैशाख वा जेठमा स्थानीय चुनाव भएपनि एकीकृत समाजवादी सामाना गर्न तयार रहेको बताउनुभयो । अनेकौँ भ्रम छर्दै एमालेले गठबन्धन तोड्ने कोशिस गरेको आरोप लगाउँदै नेपालले चुनावसँग एमाले डराएको बताउनुभयो । उहाँले भन्नुभयो, ’गठबन्धनलाई तोड्न खोजेर एमाले अत्तालिएको होला हामी अत्तालिएका छैनौँ,’।

संविधानको धारा २ सय २५ ले स्थानीय चुनावको मिति गाउँसभा र नगरसभाको कार्यकाल सकिएको ६ महिनाभित्र गर्ने उल्लेख भएकाले असोजलाई अन्तिम मिति राखेर निर्वाचन गर्नेतर्फ गठबन्धन सरकार अघि बढेको बताउनुभयो ।