काठमाडौं – सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचनमा नै केन्द्रित हुने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ ।

सत्ता गठबन्धनमा सहभागी पाँच दलमध्ये नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहभन्दा अगाडि सङ्घीय र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने अडान लिदैं आएका छन् । तर सरकारको नेतृत्व गरिरहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली काङ्ग्रेसभित्र आउँदो बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने आवाज उठिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनकै निर्णयको आधारमा अघि बढ्न लगभग तयार भइसक्दा पनि पार्टीभित्रको दबाबले उनी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अप्ठ्यारोमा पुगेको बताइन्छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरु दैनिकजसो बैठक, भेटघाट र छलफलमा व्यस्त छन्। यसैबीच गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकबाट संविधानसँग बाझिएका कानुन संशोधन गर्ने विधि र प्रक्रिया तथा स्थानीय तहको निर्वाचनबारे निर्णय लिइने बालुवाटार स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजको बैठकले स्थानीय तहको निर्वाचनबारेको अहिलेसम्मको अन्योल चिर्ने सम्भावना छ । शुक्रबारसमेत भेट गरेका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल गरेका थिए । सोही छलफललाई आज बस्ने बैठकले टुङ्गो लगाउने बताएइएको छ ।
तर, संविधानको धारा २५ ले स्थानीय तहको निर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्ष तोक्दै थप छ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेपछि अहिले संविधान र कानुन कुन मान्ने भन्ने बहस चलिरहेको छ । सत्ता गठबन्धनले संविधानसँग ऐन बाझिए बदर हुने संविधानको धारा १ मा टेकेर ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ ।

जसले गर्दा स्थानीय तहको निर्वाचन सत्ता गठबन्धनको टाउको दुखाइको विषय बन्दै आएको छ । बैशाखभित्र स्थानीय तहको निर्वाचन नगरिँदा सत्ता गठबन्धन नै असफल हुने भाष्य निर्माण गरिएपछि पाँचदलका शीर्ष नेताहरु स्थानीय तहको निर्वाचनलाई लिएर बढी संवेदनशील बन्न थालेको पाइन्छ ।