काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्। उनीहरुले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।

उनीहरुका अनुसार आइतबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।