काठमाडौं – नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको द निप्पोन फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजना अन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो । आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले जानकारी दिनुभयो ।

दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण सङ्घका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत सङ्घका पदाधिकारीहरूले कपडा र स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुशी व्यक्त गरेका थिए । फाउन्डेशन र सङ्घले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद दिएका छन् । जुममार्फत् कार्यक्रममा सहभागी भएका फाउन्डेशनका वरिष्ठ निर्देशक सेको मासातोले सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । रासस