काठमाडौं – विश्पव्यापी रुपमा आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । आज शुक्रवार मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीनै जिल्लाका प्रजिअहरुको बैठक बस्ने भएको छ ।

काठमाडौं उपत्यकामा गत शुक्रबार अर्थात् माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो । जोरबिजोर प्रणालीलाई कसरी थप व्यवस्थित बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजाल भन्नुहुन्छ, ‘अहिले तत्काल जोरबिजोर हटाउने निर्णय गर्दैनौं, व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर मात्रै निर्णय लिन्छौं ।’

तीनवटै जिल्लाका प्रजिअहरुको बैठकमा विद्यालय सञ्चालनको अनुमति दिनका लागि स्कुलहरुले स्थानीय प्रशासनलाई दबाव दिएका छन् । रात्रिकालीन व्यवसाय गर्नेहरुले पनि व्यवसाय सञ्चालनको अनुमति दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । त्यसबारे पनि छलफल हुने बताइएको छ ।