काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोली शुक्रबार बस्ने भएको छ । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नुभएको हो ।

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोली दिउँसो २ बजेपछि भर्चुअल माध्यमबाट हुनेछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । स्थानीय तहको निर्वाचनको मिति नतोकेको विषयमा काङ्ग्रेस भित्रैबाट सरकारको आलोचना भइरहेको छ ।

सरकार कानुन संशोधन गरेर स्थानीय तह निर्वाचन धकेल्न अग्रसर भएको देखिएपछि देउवा इतर पक्षले त्यसको विरोध गरिरहेको छ । सरकारले हालै कानुनविद्सँग निर्वाचनबारे सुझाव मागेको थियो । कानुनविद्हरूले ऐन संशोधन गर्न सुझाव दिएका थिए । यिनै विषयवस्तुमा आधारित रहेर छलफल गर्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली दिउँसोका लागि आह्वान गरिएको हो ।