काठमाडौं – अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा वर्षमान पुन ‘अनन्त’लाई भेट्न उहाँको निवासमा पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर सोमबार स्वदेश फर्किएपछि अर्थमन्त्री शर्मा बुधवार भेट गर्न पुनको निवास पुगेको पुनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका दुई नेताबीचको भेटपछि शर्माले पुनलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ । नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरेर माघ १० गते स्वदेश फर्किनुभएको हो । माओवादी केन्द्रमा शर्मा र पुन दुवै महासचिव पदको आकाङ्क्षी रहनुभएको बुझिएको छ ।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत असोज १३ गते थाइल्याण्डको राजधानी बैंकक जानुभएको थियो । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदा समेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि गत मङ्सिर १० गते चीन लगिएको थियो । चीनमा उपचार गरी पूर्ण रुपमा स्वास्थ्यमा सुधार आएपछि नेता पुन सोमबार स्वदेश फर्किनुभएको हो ।