काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज काठमाडौंमा दिउँसो बादल लाग्ने र अपराह्नपछि फाटफुट वर्षाको सम्भावना पनि छ । तर, बिहान भने घाम लाग्नेछ । काठमाडौंमा आज दिउँसो तापक्रम १४ देखि १६ डिग्री सेल्सियससम्म पुग्नेछ ।

आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।