मकवानपुर – राष्ट्रियसभा सदस्यको रिक्त १९ सिटको लागि आज निर्वाचन भएको छ । जारी मतदानको परिणाम आजै बुधबार बेलुकासम्म आइसक्ने निर्वाचन आयोगले बताएको छ । सातै प्रदेश राजधानीमा जारी मतदानको समय सकिए लगतै मत गणना हुने आयोगले जनाएको छ ।


बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई जनाले प्रतिनिधित्व गर्ने छन् । दुई सिटको लागि अहिले प्रदेश राजधानी हेटौंडामा मतदान भैरहेको छ। हेटौंडा औद्योगिक क्षेत्र परिसरमा बिहान १० बजेदेखि मतदान सुरु गरिएको थियो । तीन बजे मतदान सकिएपछि ४ बजेबाट मतगणना सुरु हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी छ जनाको उम्मेदवारी परेको मध्ये दुई जनामात्रै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् ।

पाँच दलीय गठबन्धनले महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा काङ्ग्रेसबाट कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यलाई उम्मेदवार बनाएको छ भने नेमकिपाबाट महिला उम्मेदवारमा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ ।

निर्वाचनमा प्रदेशसभाका एक सय नौ जना सांसद, प्रदेशका एक सय १९ स्थानीय तहका प्रमुख एवं उपप्रमुख गरी तीन सय ४६ जनाले मतदान गर्दैछन् । मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यी दुई फरक फरक मतदान केन्द्रमा मतदान गरेका छन् ।

आफ्नो पार्टीका तर्फबाट चुनावमा उम्मेदवार नभएकाले चुनावमा भोट पनि नहाल्ने बताएको राप्रपाले मतदान गरेको पाइएको छ । सो पार्टीले प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताए पनि बागमती प्रदेशसभा सांसद रिना गुरुङ र रिता माझीले मतदान गरेका छन् ।
पाँच दलीय गठबन्धनका उम्मेदवार गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौण्डेल राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने लगभग पक्का छ ।