काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षकको बढुवाको लागि विज्ञापन आह्वान गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको लागि बढुवाको विज्ञापन आह्वान गरिएको हो ।

शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत) र आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत)का लागि विज्ञापन आह्वान गरिएको हो । २०७७ साल चैत मसान्तसम्म सम्बन्धित तहको श्रेणीमा पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका स्थायी शिक्षकले मात्र दुवै प्रतियोगितामा भाग लिन पाउनेछन् ।

शिक्षक सेवा आयोगका अनुसार आन्तरिक प्रतियोगिताका लागि प्राथमिक द्वितीयतर्फ ४ सय ३३, प्राथमिक प्रथमका लागि १ सय १९, निम्न माध्यमिक द्वितीयका लागि १ सय २७, निम्न माध्यमिक प्रथमका लागि १८, मावि द्वितीयका लागि १ सय ३७ र मावि प्रथमका लागि ३३ पदका लागि विज्ञापन खुलाइएको हो ।