काठमाडौं – राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । मतदाताहरु मतदानस्थल र केन्द्र तोकिएका शहरमा पुगिसकेका छन् ।

प्रदेश १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेस प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ । यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

आगामी २० फागुनमा नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली काङ्ग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।