काठमाडौं – सरकारलाई स्थानीय तहको चुनावको लागि तत्काल मिति तोक्न आग्रह गरेको निर्वाचन आयोगले उक्त निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । आयोगले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दुई चरणमा चुनाव गराउन सकिने प्रस्ताव गरिएको जानकारी दिएको छ । वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सम्भव नभए दुई चरणमा गर्न सकिने प्रस्ताव आयोगले गरेको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक–पटक भेटेर स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।


आयोगद्वारा प्रकाशित विज्ञप्तिमा ‘कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोस्रो चरण २०७९ वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ,’ भनिएको छ ।
साथै, आयोगले वैशाख मसान्तभित्र निर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।

आयोगले सरकारसमक्ष यथाशीध्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दै निर्वाचन व्यवस्थापनका लागि १२० दिन समय माग गरेको छ । सो अवधिमा आयोगले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरवलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका कार्यहरू पूरा गर्ने आयोगले जनाएको छ ।

आयोगले निर्वाचनको मिति तोक्न विलम्ब भए निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक रूपमा जटिल हुने भएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा मिति तोक्न सरकारसँग आग्रह गरेको छ ।