फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंने हुनुभएको छ । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर्ड विमानमार्फत पुन नेपाल आउन लागेको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

नेता पुनले सामाजिक सञ्जालमार्फत् सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किंन लागेको जानकारी दिनुभएको छ । ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्यलाभ गरेर नेपाल फर्किंदै छु’, पुनले फेसबुकमार्फत सार्वजनिक रुपमा जानकारी दिनुभएको छ ।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । काठमाडौंमा उपचार सम्भव नभएपछि उहाँ माओवादी अध्यक्ष प्रचण्डको सल्लाहमा सुरुमा बैंकक र त्यसपछि चीन उपचारका लागि जानुभएको थियो । उपचारका लागि बाहिरी मुलुक जानुभएका पुन पूर्ण स्वास्थ्यलाभ गरी आज बेलुका चार्टर्ड विमानमार्फत नेपाल आउन लाग्नुभएको हो ।