काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आगामी बुधबार अर्थात् माघ १२ मा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाइएको हुनुपर्ने छ ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरी सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध गरिएको छ । निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन् गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।

१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली काङ्ग्रेसका तीन जनाको राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । आयोगले मौन अवधिमा आचारसंहिता पालना गर्न÷गराउन सबैसँग अनुरोध गरेको छ ।