साङ्केतिक तस्वीर
भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोट गाम्चामा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ । भक्तपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक बालकका बाबु र आमासमेत निसास्सिएर अचेत अवस्थामा रहेका छन् ।


रामेछाप मन्थली नगरपालिका घर भई हाल भक्तपुरको गाम्चामा बस्दै आएका ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्दै आएका थिए । उनीहरू दुई वर्षदेखि त्यहाँ डेरा गरी बसेको स्थानीयहरुको भनाइ छ ।


गत साँझ खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थिए । तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेपछि अचेत अवस्थामा मृतक बालकका बाबु र आमालाई तत्कालै मध्यपुर अस्पताल लगिएको थियो । प्रहरीले बताएअनुसार अचेत दुवै जनाको उपचार भैरहेको र उनीहरुको अवस्था गम्भीर रहेको छ ।