फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को निवर्तमान स्थायी समितिका सदस्यहरुको शनिबार बसेको बैठकले कोरोना भाइरसको महामारी कम नहुँदासम्म जनपरिचालनका कामहरुको सम्पूर्ण जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले जनपरिचालनसँगै बाँकी रहेका साङ्गठनिक कामहरु टुङग्याउन पनि अध्यक्ष प्रचण्डलाई दिएको छ । माओवादी केन्द्रका प्रवक्ता समेत रहेका नेता कृष्णबहादुर महराले बताए अनुसार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा चर्को बहस भइरहेकोले बैठकमा त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलको सुझाव प्राप्त भए पछिमात्रै के कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको छ ।

बैठकको निर्णयबारे जानकारी गराउँदै नेता महराले ‘अहिलेको कोभिडको स्थिति अलि चर्को छ। त्यसकारणले कोभिड अलि मत्थर नभएसम्म बैठक स्थगित गर्ने तर तत्काल कामको निम्ति अध्यक्ष कमरेडले कामहरु अघि बढाउने, केही तलका संगठनात्मक कामहरु बाँकी रहेका छन् भने प्रदेश जिल्लाहरुले टुंग्याउने। त्यसपछि केही कामहरु खास गरेर जनपरिचालनका कामहरु अध्यक्ष कमरेडलाई दिने भन्ने निर्णय भयो’, उनले भने, ‘अर्को एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ। त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ। त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने। त्यो कार्यदलको सुझाव पर्खिने भन्ने छलफल भयो’ भनेर जानकारी गराएका छन् ।

आजको बैठकमा चुनावमा सकेसम्म कम खर्चमा तीन वटा चुनाव एकैपटक गर्न पाए राम्रो हुन्थ्यो भन्ने ढङ्गले छलफल भएको भन्दै नेता महराले ‘यो छलफल अझ पनि जारी छ । निर्वाचन आयोग, बुद्धिजीवीहरु, पत्रकारहरु, त्यसपछि कानुनविद्सँग सल्लाह लिएर यसको निष्कर्षमा पुग्न बाँकी नै छ’ भनेका छन् ।