काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र देशका तीन तहको निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन हुने भन्दै सम्बन्धित निकायलाई तयारीमा जुट्न आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले ‘तीन तहको चुनाव एक वर्षभित्र गर्नुपर्ने छ । तयारी जारी राख्न सबैलाई आग्रह गर्दछु’ भन्दै ‘सरकारले संविधानको कार्यान्वयन, आर्थिक विकास, संवृद्धिलाई प्राथामिता दिएर काम गरिरहेको’ दाबी गर्नुभयो ।

संसदमा प्रमुख प्रतिपक्षी दल एमालेको जारी रहेको विद्यमान अवरोधतर्फ सङ्केत गर्दै प्रधानमन्त्री देउवाले संसद्मा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन, विस्तृत सम्झौताको बाँकी कार्य पूरा गर्ने र नागरिकताको समस्यालाई सरकारले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै, संसदमा विचाराधीन सबै विषयमा सबै दलसँगको संवाद गरेर निष्कर्षमा पुगिने धारणा समेत राख्नुभएको छ ।