काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । बढ्दो दरमा कोरोनाको सङ्क्रमण फैलिए पनि न्यूनीकरण गर्ने उपायका रुपमा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले कठाइका साथ आज शुक्रबार मध्यरातदेखि निजी तथा सार्वजनिक यातायातका साधनहरुमा जोर विरोज प्रणाली लागू गर्नेभएका छन् । सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको हिजो बिहीबार बसेको संयुक्त बैठकले जोरविजोर लागू गर्ने निर्णय गरेको थियो ।

सर्र्वसाधारण जनतालाई बुझ्न सहज होस् भन्ने अभिप्रयाले जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुनः अर्को विज्ञप्ति जारी गर्दै जोरबिजोर लागु नहुने क्षेत्रको बारेसमेत स्पष्ट गराएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज जारी गरेको सूचना अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु नहुने जनाएको छ ।

यस्तै खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न सकिने व्यवस्था मिलाएको छ ।

यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले विज्ञप्तीमार्पत स्पष्ट पारेको छ भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तिय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागु नहुने उल्लेख गरिएको छ ।

पत्रकारको हकमा भने सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएकाहरुको सवारी सधान तथा कूटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू नहुने सूचनामा उल्लेख गरिएको छ ।