काठमाडौं – सरकारले सार्वजनिक स्थानमा हिँड्डुल गर्नदेखि सार्वजनिक सेवा लिनका लागि समेत अनिवार्य खोप कार्ड साथमा हुनुपर्ने व्यवस्था गरेको छ । देशमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि जथाभावी रुपमा हिँड्डुल माथि कडाइ गर्न सरकारले यस्तो निर्णय गरेको हो ।
खोप कार्ड नभए खोप कार्डको फोटो भएपनि अनिवार्य बोक्नुपर्ने निणर्य गरेको छ । मुलुकभर कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । समुदायमा समेत सङ्क्रमित धेरै रहेका र स्वास्थ्य जाँच समेत नगरी बसेकाको सङ्ख्या पनि अत्यधिक रहेको आङ्कलन गरिएको छ । देशभर सङ्क्रमित भएका मध्ये काठमाडौँ उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आधाआधि छ । उपत्यकामा कोरोना महामारीको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशअनुसार शुक्रबार मध्यरातदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधनमात्रै चलाउन पाइने छ । यो नियम सार्वजनिक यातायात, निजी सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनमा समेत लागू हुनेछ । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ।

आदेशअनुसार स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर प्रणाली लागू हुने छैन । आदेशमा सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्न भनिएको छ ।